पर्वत, ३ असोज । वर्षा हुनासाथ मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पनि दैनिक बन्द हुन्छ । कुस्मा नगरपालिका १ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अवरुद्ध हुँदै आएको छ ।
कुस्मा १ पाङ जोड्नका लागि सहसधारा –पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका विभिन्न ठाउँमा पहिरो खसेको छ । गत असार २८ गते सडकको ठूलो भूभाग खसेपछि सहस्रधारामा पहिरोले सडक अवरुद्ध भएको थियो भने पछिल्लो समय सडकको शुरुआत भएकै ठाउँमा पहिरो गएपछि दैनिक रुपमा यातयात अवरुद्ध हुँदै आएको छ । सडक अवरुद्ध हुँदा यातयातका साधन घण्टौ रोकिने गरेका छन् । अहिले लामो दूरीका सवारी साधन खुलेपछि यात्रुको चाप बढेपनि अवरुद्ध हुँदा त्यसले यातयात व्यवसायी र यात्रु प्रभावित हुन पुगेका छन ।
जिल्ला प्रहरी कार्यालयले सहस्रधारामा पहिरो खसिरहेको जनाएको छ । शुरुमा ढुङ्गा खसेपनि पछिल्ला दिनहरुमा लेदो समेत बगेका कारण झनै समस्या भएको छ । शनिबार बिहान पनि खसेको पहिरो हटाएर यातयात सुचारु गरिएको थियो । शुक्रबार पनि सडक अवरुद्ध नै भएको थियो पानी पर्न रोकिएपछि सडक खुलाउने काम भएको थियो । “दैनिक रुपमा सडक अवरुद्ध हुँदा समस्या भएको छ ।” कार्यालयका प्रमुख वरिष्ठ प्रहरी निरीक्षक विश्वराज अधिकारीले भन्नुभयो“वर्षात नरोकिए सम्म सडक अबरुद्ध हुने समस्या नहट्ने देखियो ।” वर्षा नरोकिँदा निरन्तर पहिरो बग्ने गरेका कारण डोजर चलाउन समेत कठिन हुने गरेको छ ।
गत भदौ २८ गते पछि निरन्तर पहिरो खसेको छ । त्यस बखत तीन पछि मात्रै अवरुद्ध सडक सुचारु भएको थियो । सडक खुलाउनका लागि दुई वटा स्काभेटर तयारी अबस्थामा राखिएको छ । दैनिक ४, ५ घण्टा स्काभेटर चलाएर सडक खुलाउँदा सडक निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनले पनि थप आर्थिक भार बेहोर्न बाध्य छ । निर्माण कम्पनीका व्यवस्थापक गोबिन्द भुसालका अनुसार डोजर परिचालनमा दैनिक ५ हजार खर्च भैरहेको छ भने सडकमा खाल्डाखुल्डी पुर्ने काम पनि गर्न कठिन भएको छ । भएका स्काभेटर त्यही पहिरो हटाउन प्रयोग हुँदा अन्य काम पनि प्रभावित हुँदै आएको उहाँ बताउनुहुन्छ । पहिरो हटाउनका लागि प्रयोग हुने इन्धन र खर्च कम्पनीको थप खर्च हो जुन उसले लोकमार्ग आयोजना कार्यालयबाट समेत पाउँदैन ।
मुख्य राजमार्गबाट जथाभावी रुपमा शाखा सडकहरु निर्माण हुँदा जताततै राजमार्ग ध्वस्त बनाउने काम भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रमुख आषिश थापा मगर बताउनुहुन्छ । “शाखा सडक खन्दा मुख्य राजमार्गमा असर नपर्ने गरि खन्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “वर्षेनी शाखा सडकबाट आउने पहिरो र लेदोका कारण राजमार्गमा पहिरो र मर्मत गर्न समस्या हुने गरेको छ ।” सहस्रधारामा पनि शाखा सडकबाटै पहिरो आएका कारण समस्या भएको र वर्षा याम सकिएपछि पहिरो रोकमाथामका लागि आवश्यक प्रक्रिया थालिने उहाँले बताउनुभयो ।