३ असार २०८१, आइतबार

सिन्धुपाल्चोक पहिरो (अपडेट) : ९ जनाको शव भेटियो, २२ जना अझै बेपत्ता


सिन्धुपाल्चोक पहिरो

सिन्धुपाल्चोक, भदौ २८ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका-७ मा दुई वटा बस्ती बगाउने गरी हिजो शनिबार राति खसेको पहिरोमा बेपत्तामध्ये अहिलेसम्म ९ जनाको शव फेला परेको छ भने अझै २२ जना बेपत्ता छन् । राति ३ बजेतिर बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका ७ घर पुरिएका छन् ।

जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार अहिलेसम्म मृत्यु हुनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा र ४२ वर्षीया ज्ञानीमाया प्रधान तथा भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय शुकलाल विक, ८ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षका धनलाल विक र ६० वर्षीया हिरामाया नेवार रहेका छन् ।

बाह्रबीसे-७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार पहिरोले जमिन भास्सिएर अझ ठूलो पहिरो आउँदा भिरखर्कको माथिल्लो विक टोल, नेवार टोल, तामाङ टोलको नामोनिसान मेटिएको छ । माथिल्लो टोलका घाइतेलाई २ घण्टापछि मात्रै उद्धार गरेर बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । श्रेष्ठका अनुसार पहिरोमा अझै २२ जना बेपत्ता छन् । उनीहरूको नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !