८ मंसिर २०८१, शनिबार

बागलुङ बाढीः मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता


बागलुङमा सुकुर्दुङ खोलाको बाढी

तुलसीपुर, २२ भदौ । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् ।

बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा आज अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स्थित बढीगाड खोलामा फेला परेको उद्धारमा खटिनुभएका इलका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक १७ जनामध्ये १५ जनाको मात्रै सनाखत हुन सकेको छ । सनाखत भएका शवको अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइसकिएको छ । पहिचान हुन बाँकी दुई जनाको शव बुर्तिवाङ स्वास्थ्य केन्द्रमा राखिएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो । अधिकांश शव बाढीले बगाएको गाउँभन्दा धेरै तल बडीगाड खोलामा फेला परेको उहाँको भनाइ छ ।

बेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !