४ असार २०८१, मंगलबार

कालीकोट बाढीपहिरो अपडेट : घर पुरिँदा ९ जनाको मृत्यु, बाढीले बगाएर ५ जना अझै बेपत्ता


कालीकोटको नरहरिनाथ गाउँपालिका पहिरो

कालिकोट, साउन १४ । कालिकोट जिल्लामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनासिहत ९ जनाको मृत्यु भएको हो । गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले नरहरिनाथ गाउँपालिका-४ गोदी र ७ बाँगामा २ वटा घर पहिरोमा घर पुरिँदा ५ जना महिलाहरु र ४ जना पुरुषहरु गरी ९ जनाको मृत्यु भएको जानकारी दिए ।

पहिरोमा पुरिएको अवस्थामा बुधबार ९ वटा शव फेला परेको हो । प्रहरीका अनुसार नरहरिनाथ गाउँपालिका-७ का ६५ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैना, २४ वर्षीया बुहारी कुशा, १८ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बुढा र डेढ वर्षका चरित्र बुढाको मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ ।

साथै सोही गाउँपालिकाको वडानम्बर ४ मा पहिरोले घर पुरिँदा ६५ वर्षीय बाले बुढा र उनकी श्रीमती ६५ वर्षीया मनाको मृत्यु भएको छ । घटनास्थल सदरमुकाम मान्माबाट करिब १८ कोष टाढा छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा परिचालन गरिएको जनाइएको छ ।

साथै कालीकोटकै रास्कोट नगरपालिकामा गत सोमबार राति बाढीले बगाएर बेपत्ता भएका ५ जना अझै भेटिएका छैनन् । सो नगरपालिका-१ को बडलतोलामा गंगे खहरे खोलामा आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित ५ जना बेपता भएका थिए ।

बेपत्ता हुनेमा राजबहादुरकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र १५ वर्षीया साली अस्मिता रहेका छन् । सोही वडाको चोक्टेबगरमा पहिरोमा पुरिएर बेपत्ता भएकी १ जना बालिकाको भने शव भेटिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु