१ मंसिर २०८१, शनिबार

चितवनमा बाढी पहिरामा परी १ जना बेपत्ता, दर्जनौँ घर डुबानमा


चितवनमा बाढी पहिरा

चितवन, ५ साउन । अविरल वर्षापछि आएको बाढी पहिरामा परी चितवन जिल्लामा एक जना बेपत्ता भएका छन् भने तीन घर बगाएको र दर्जनौँ घर डुबानमा परेका छन् । खैरहनी नगरपालिका–११ का अन्दाजी ३० वर्षीय राजु बोटेलाई राप्ती नदीमा माछा मार्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई आज साँझ ६ः१० बजेको समयमा नदीले बगाएपछि खोजी कार्य जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार त्रिशुली नदी बढेर ईच्छाकामना गाउँपालिकाको फिस्लिङमा तीन घर बगेका छन् । त्यहाँ कुनै मानवीय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो ।

नारायणी नदी बढेसँगै भरतपुर महानगरपालिका वडा नं. २६ र १६ मा डुबान भएको छ । उहाँका अनुसार वडा नं. २६ का ३० घरका र १६ का १४ घरका बासिन्दालाई स्थानान्तरण गरिएको छ । नदीको बहाव बढ्दै गएकाले सतर्क रहन स्थानीय प्रशासनले आह्वान गरेको छ ।

नारायणी नदी किनारमा अनाथालय हाम्रो घरको आँगनसम्म पानीको बहाव आइपुगेको छ । पानी बढेमा त्यहाँ रहेका ३० जना आश्रितलाई अन्यत्र सारिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताउनुभयो । नारायणी नदीको सतह सतर्कताको सूचीभन्दा माथि रहेको छ ।

चारकिलोको पहिरो पन्छाउने कामको मङ्गलबारबाट थालनी

निरन्तर वर्षासँगै पहिरो खस्ने क्रम जारी रहेपछि नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा आज दिनभर पहिरो पन्छाउने काम शुरु गर्न सकिएको छैन । मङ्गलबार बिहानबाट मात्र मौसम अनुकूल भएमा पहिरो पन्छाउने काम थालिने भएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार काम थाल्नै नसके पछि साँझबाट त्यहाँ भएका उपकरण र जनशक्ति पृथ्वी राजमार्गको पहिरो पन्छाउने काममा परिचालन गरिएको छ । चारकिलोमा ठूलो पहिरोसँगै साना पहिराहरु खसेका छन् । पहिरो पन्छाउन नपाउँदै माथिबाट थप पहिरो खस्ने समस्या भएपछि काम अघि बढ्न नसकेको हो ।

ईच्छाकामना गाउँपालिका–६ मा पर्ने सो ठाउँ नारायणगढबाट ३१ दशमलब पाँच किलोमिटर दूरीमा पर्दछ । अधिकारीका अनुसार पहिराले करिब ६० मिटर क्षेत्र ढाकेको छ । सो सडकको अन्य पहिरो खस्नसक्ने ठाउँमा नियन्त्रणको काम भइसकेको भए पनि त्यस स्थलमा काम गर्न शुरु गरेलगत्तै पहिरो खस्न थालेको हो । सो सडकखण्डमा ठाउँठाउँमा खसेका साना पहिरो भने पन्छाउने क्रम जारीनै छ । चार किलो नजिकै चोर खोलामा खसेको पहिरो भने पन्छाउन बाँकी रहेको कार्यालयका ई शिव खनालले जानकारी दिनुभयो ।

पृथ्वी राजमार्गमा दुई सयभन्दा बढी ठाउँमा पहिरो

लगातारको वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध छ । अधिकारीका अनुसार सो सडकखण्डका २०० भन्दा बढी ठाउँमा साना–ठूला पहिरा रहेका छन् । चितवन र धादिङ जोड्ने मौवा खोलाको धादिङतर्फको पुल र राजमार्ग जोड्ने १२ मिटरभन्दा बढी भागमा खोला हिँडेको छ । उहाँका अनुसार सो खण्डको मौवा खोला, जोगिमारा, चेरेस, जवाङ्ग खोला, चुम्लिङ्टारलगायतका ठाउँमा पहिरो खसेका छन् ।

ई खनालले मौवा खोलाको पुल र सडक जोड्ने एप्रोज मर्मत सम्भार निकै कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो काम गर्न केही दिन लाग्छ ।” साना–ठूला पहिरो हटाउन धेरै समय नलागे पनि मौवाखोलाको पुल नजिकैको बगेको भाग मर्मत गर्न समय लाग्ने बताउनुभयो । सडक ठाउँठाउँमा अवरुद्ध भएपछि अत्यावश्यक कामले हिँडेका यात्रु, बिरामी र मालवाहक सवारी रोकिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !