सिञ्जा, ९ जेठ । जुम्लाको हिमा गाउँपालिका–३ मोफ्लास्थित राहदेव फर्निचर उद्योगमा आगलागी भएको छ । आज बिहान ३ बजे फर्निचर उद्योगमा जडान गरिएको विद्युत् चुहिएर आगलागी भएको सञ्चालक हुकुम सार्कीले जानकारी दिनुभयो ।
आगलागीबाट १६ लाख ११ हजार ३०० बराबरको क्षति पुगेको हो । राति आगलागी भएकाले भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको कल्पना सार्कीले बताउनुभयो । चार वर्षदेखि उक्त उद्योग सञ्चालनमा थियो । मोफ्लावासीले कुटानी, पिसानी र काठ च्यात्नेदेखि सबै सेवासुविधा मिलबाट लिँदै आएका थिए । आगोले उद्योगमा निर्माण भएका फर्निचर एवं यन्त्र जलेर नष्ट भएको पीडित सार्कीलाई उद्धृत गर्दै सिञ्जा गाउँपालिका–३ धितालीका पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
आगलागी भएपछि बड्की प्रहरीचौकी तथा स्थानीय बासिन्दाको सहयोगमा करीब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । फर्निचर उद्योगमा रहेका यन्त्र, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु १६ लाख ११ हजार ३०० बराबरको क्षति भएको हो ।
आगलागीबाट फर्निचरसँगै गोदामघर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेका हुन् । बड्की प्रहरी चौकीले क्षतिको मुचुल्का उठाइसकेको धितालले बताउनुभयो । आर्थिकावस्था कमजोर भएका सार्कीलाई फर्निचर उद्योगमा आगलागी भएपछि परिवार पाल्न धौधौ हुने भएको छ ।
एकसरो लुगा र आम्दानीको प्रमुख स्रोत रहेको उद्योगमा आगलागी हुँदा अहिले बिजोग भएको छ । फर्निचरमा भएको क्षति हेरी वडा र गाउँपालिकाबाट सहयोगको आशा गरिएको उहाँले बताउनुभयो ।