१५ बैशाख २०८१, शनिबार

घाँस काट्न जाँदा हराएका ७ जना बालिका र किशोरी भारतको सीतामढीमा भेटिए


घाँस काट्न जाँदा हराएका ७ जना बालिका र किशोरी भारतको सीतामढीमा भेटिए

महोत्तरी । महोत्तरीको भंगहाबाट हराएका ७ बालिका तथा किशोरी भेटिएका छन् । खोजी गर्ने क्रममा बिहान उनीहरु भारतको सीतामढीमा भेटिएका भंगहा नगरपालिकाकी उपमेयर गंगादेवी सिंह दनुवारले जानकारी दिइन् । अहिले प्रहरी त्यसतर्फ गएको पनि उनले जानकारी दिइन् ।

महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको थियो । मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो ।

धर्मपुरको दलित बस्तीका घाँस काट्न भनी समूहमा निस्केका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान सम्पर्कविहीन थिए ।

उनीहरू बिहार पुगेको खबर आएसँगै नेपाल प्रहरीको टोली त्यसतर्फ जान लागेको बताईएको छ । पारिपट्टिबाट भारतीय प्रहरीले समातेर राखेकोले नेपालबाट प्रहरी गएपछि केहीबेरमा उनीहरूलाई हस्तान्तरण गरेपछि उनीहरूलाई घर-परिवारको जिम्मा लगाइने प्रहरी ले बताएको छ ।

साँझ ७ बजेसम्म किशोरीहरू घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । भंगाहा प्रहरी चौकी सीतापुर, लोहरपट्टी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक राजेश घिमिरे नेतृत्वको टोलीले रातभर किशोरीहरूको खोजी गरेको थियो । प्रहरी र स्थानीयले मिलेर रातभर खोजी गरिएको थियो ।

यो पनि पढ्नुहोस्

घाँस काट्न गएका ७ जना हिजोदेखि सम्पर्कविहीन : अपहरणको आशंका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु