सप्तरी, २१ चैत । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको आशङकामा पहिलो पटक नौ जनाको स्वाब परीक्षणका लागि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
भारतको विभिन्न राज्यबाट इस्लाम धर्मालम्बीहरुको तब्लिगी जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका आठ जना र फ्रान्सबाट नेपाल फर्किएका तिलाठी कोइलाडी गाउँपालिकाका एक जना गरी कूल नौ जनाको स्वाब परीक्षणका लागि सो प्रतिष्ठानमा पठाइएको हो ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्वाब सङ्कलन गरी उनीहरुलाई पुनः क्वारेन्टाइनमा पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । परीक्षणका लागि स्वाब सङ्कलन गर्नुभएका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाले नौ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।
स्वाब रिपोर्ट आएपछि थप स्पष्ट हुने भन्दै अस्पतालले स्वाब रिपोर्ट आउन दुई÷तीन दिन लाग्ने जनाएको छ । भारत बिहारको अररिया जिल्लाबाट आएका आठ जनालाई राजविराज नगरपालिका–४ स्थित इस्लाम मियाँको घरमा तथा फ्रान्सबाट आएका एक जनालाई राजविराज नगरपालिका–२ स्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।
–––