काठमाडौँ । काठमाडौँको दक्षिणकालीस्थित चाल्नाखेलमा आज २ विद्यार्थी मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौँको बाङ्गेमुढामा बस्ने उनीहरु चाल्नाखेलमा मृत फेला परेका हुन् ।
घटना शङ्कास्पद देखिएकाले प्रहरीले अनुसन्धान थालेको छ । मृत्यु हुनेमा नुवाकोट घर भई काठमाडौँ बस्दै आएका १६ वर्षका अर्जुन खड्का र काभ्रेपलाञ्चोकका १८ वर्षीय मङ्गल तामाङ रहेका छन् । दुवै कक्षा १० का विद्यार्थी हुन् ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले घटनास्थल नजिक विषादीका बोतल फेला परेको समेत बताए । प्रहरीले कुकुरसहित फरेन्सिक ल्याबको टोली लगेर समेत घटनास्थलको अनुसन्धान गरेको छ ।
प्रहरीका अनुसार उनीहरु बिहीबार बिहानदेखि घरबाट हराइरहेका थिए । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको र रिपोर्टपछि मात्रै मृत्युको कारण भन्न सकिने बस्नेतले बताए ।