६ जेष्ठ २०८१, आइतबार

सांसद तथा नेपाली कांग्रेस नेता सूर्यबहादुर केसीको निधन


सूर्यबहादुर केसी

पोखरा, कार्तिक १८ । प्रतिनिधिसभाका सांसद तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको हिजो सोमबार राति १०ः३० बजे ६३ वर्षको उमेरमा निधन भएको हो ।

केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए । केसी पोखरा उपमहानगरपालिकाका तत्कालीन प्रधानपञ्च थिए । पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए । उनी राप्रपा छाडेर २०७४ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

उनी प्रतिष्ठित व्यवसायिक व्यक्तित्वका रुपमा परिचित थिए । सामाजिक क्षेत्रमा पनि उनको उच्च योगदान रहेको छ । समाजसेवा तथा दान दातव्यमा उनी मन फुकाएर सहयोग गर्ने गर्थे । व्यवसायीक रुपले पनि निकै चर्चित केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक थिए ।

उनको जलविद्युत क्षेत्रमासमेत ठूलो लगानी रहेको थियो । केसी माछापुच्छ्रे बैंकका संस्थापक समेत रहेका थिए । केसी संस्थापक भएरै शुरु गरेको माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय अहिले पनि पोखरा नै रहेको छ ।

नेपालकै पहिलो चाउचाउ (आहा रारा) उद्योग शुरु गरेका केसीले २०२३ सालमा राइस मिल, २०२८ सालदेखि निर्माण व्यवसायीमा आबद्ध भएका थिए । १४ वर्षदेखि व्यावसायिक यात्रामा होमिएका केसी सामाजिक, राजनीतिक, ऊर्जा, खाद्य, बैंकिङ, उद्योग लगायतका क्षेत्रमा लाग्दै आएका थिए ।

उनको आज मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार हुने पारिवारिक स्रोतले बताएको छ । केसीका श्रीमती र तीन जना छोरा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !