१२ असार २०८१, बुधबार

बीपी प्रतिष्ठानमा उपचाररत ५ महिने बालिकासहित २ जनाको कोरोना संक्रमणवाट मृत्यु


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

सुनसरी, कार्तिक ८ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ५ महिने बालिकासहित २ जनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट हिजो शुक्रबार साँझ मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका-११ सिधिंवा चोककी ५२ वर्षीया महिला र मोरङको सुन्दर हरैंचा नगरपालिकाकी ५ महिने बालिका रहेका छन् । उनका अनुसार पहिल्यैदेखि उच्च रक्तचाप र मधुमेहको समस्या रहेकी धरानकी महिलालाई कात्तिक ३ गते पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कात्तिक ५ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।

यस्तै सुन्दरहरैंचाकी बालिकाको मस्तिष्क सम्बन्धी रोगको उपचार भइरहेको थियो । कात्तिक ५ गते विराटनगरको नोबेल अस्पतालमा पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका बीपी प्रतिष्ठान पठाइएको थियो । योसँगै प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ७२ जना पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !