१५ असार २०८१, शनिबार

कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु


कोरोना संक्रमण

असोज १७, काठमाडौँ । मध्यपुरथिमि-१ लोहकिल्थलीमा कोरोना संक्रमणका कारण एक पुरुषको आज बिहान मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ ।

पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी समेत रहेका ती पुरुषलाई शुक्रबार साँझ श्वासप्रश्वासमा समस्या भएर अवस्था जटिल बनेको थियो । यससँगै भक्तपुरमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेहरुमा १० महिला र २१ पुरुष छन् ।

दमककी एक महिलाको मृत्यु

झापाको दमक नगरपालिका–७ की एक वृद्धा महिलाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । विराटनगरको कोशी कोभिड-१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया महिलाको मृत्युु भएको हो । केही दिनअघि ज्वरोसँगै रुघाखोकी लागेपछि उहाँलाई पाँच दिनदेखि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

उपचार केन्द्रको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उहाँको आज बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताउनुभयो । यसअघि दमक–१ का एक ५८ वर्षीय सङ्क्रमित पुरुषको पनि काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको थियो । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

भरतपुरमा एक पुरुषको मृत्यु

चितवनमा कोरोनाको सङ्क्रमणबाट आज एक पुरुषको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका–१५ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

असोज १५ गते कलेजोको समस्या भई अस्पताल भर्ना हुनुभएका उहाँमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान १०ः४४ बजे पुरुषको मृत्यु भएको अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिनुभयो । यससँगै चितवनका २३ जनाको कारोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !