५ आश्विन २०८१, शनिबार

मोरङमा एम्बुलेन्सभित्रै २ जना कोरोना संक्रमित पुरुषको मृत्यु


मृत्यु

विराटनगर, असोज १६ । मोरङ जिल्लामा एम्बुलेन्सभित्रै २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि विराट मेडिकल कलेजमा लगिएका २ जनाको आज शुक्रबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरी खनारका वृद्ध १ जना र सिरहाका पुरुष १ जना रहेका छन् । उनीहरूलाई थप उपचारका लागि मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट शिक्षण अस्पतालको आइसोलेशनमा लगिएको थियो । तर दुवै जना दिउँसो १२ः३० बजेतिर एम्बुलेन्समै मृत्यु भएको अवस्थामा भेटिएको अस्पतालका आइसोलेशन इन्चार्ज सुनिल देवले बताएका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका-१३ खनारका ९२ वर्षीय वृद्ध पुरुषको पीसीआर परीक्षण रिपोर्ट ३ दिनअघि रिपोर्ट पोजेटिभ आएको थियो । उनी ‘होम आइसोलेशन’मा बसेका थिए । श्वासप्रश्वासको समस्या बढ्दै गएपछि आइसोलेशनमा राखेर उपचार गराउन एम्बुलेन्समा राखेर विराट शिक्षण अस्पताल ल्याइएको थियो । वृद्धमा दम, उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको देवले बताए ।

विराटनगरको नोबेल मेडिकल कलेजबाट थप उपचारका लागि विराटतर्फ लगिँदै गरेका सिरहा सुकीपुर नगरपालिका-२ का ५५ वर्षीय संक्रमित पुरुषको पनि एम्बुलेन्सभित्रै मृत्यु भएको हो । उनको सोमबारपछि नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा बिहीबार साँझ रिपोर्ट पोजेटिभ आएपछि नोबेलले थप उपचारका लागि विराटको आइसोलेशनमा रेफर गरेको थियो ।

आइसोलेशनमा लैजाने तयारी भइरहँदा उपचारका लागि ल्याएको एम्बुलेन्सभित्रै पुरुषको मृत्यु भएको पाइएको आइसोलेशन इञ्चार्ज देवले जानकारी दिएका छन् । उनका अनुसार मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !