३० कार्तिक २०८१, शुक्रबार

वीपी प्रतिष्ठानमा उपचाररत मोरङका २ जना कोरोना संक्रमितको मृत्यु


वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान, २९ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचारका क्रममा मोरङका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार प्रतिष्ठानको ल्याबबाट सङ्क्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो ।

यसअघि आइतबार दिउँसो विराटनगर-१२ का ७० वर्षीय पुरुषको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो । उनलाई विराटनगरस्थित म्याक्स अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । उनलाई भदौ १६ गते कोराना पुष्टि भएको थियो । उनलाई पहिलादेखि नै उच्च रक्तचापको समस्या भएको बताइएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !