, रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

काठमाडौँ, भदौ २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको हो । स्वासपश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गर्नुभएका उनको आज आफ्नै निवास लैनचौरमा निधन भएको हो ।

उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । राष्ट्रकवि घिमिरे निधनले देशले साहित्यिक क्षेत्रका एउटा ठुलो नै युगद्रष्टा गुमाएको छ । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।

कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छुनु भएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करीब एक मात्र र अत्यन्त महत्वपूर्ण कवि मान्छन् । उहाँका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामा लगायत खण्डकाव्य र चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् ।

मालतीमङ्गले उनले लेखेको बहुचर्चित नेपाली नृत्यनाटिका (ओपेरा) हो । अश्वत्थामा (अङ्ग्रेजी) कृति नोबेल पुरस्कारको मनोनयनका लागि पठाइएको थियो । घिमिरेका किन्नरकिन्नरी गीतसङ्ग्रह, गाउँछ गीत नेपाली, फूलको थुँगा बगेर गयो, आजै र राति के देखेँ सपना, नेपाली हामी रहौंँला कहाँ नेपालै नरहे बोल लगायत थुप्रै गीत तथा निबन्ध एवं बालसाहित्य प्रकाशित छन् ।

उनका थुप्रै बाल कवितामध्ये साना बालबालिकालाई ध्यानमा राखेर ‘मुनुमुनु म्याँ म्याँ ब्रुक ब्रुक‘ अत्यधिक लोकप्रिय मानिन्छ । राष्ट्रियता, देशभक्ति, प्रकृति र प्रेमप्रणयका भावले ओतप्रोत उहाँका कृतिमा परिष्कृत र स्वच्छन्दतावादी भावधारा पाइन्छ । नेपाली लोकलयमा प्रभावशाली गीत रचना उनको अर्को विशेषता हो । उनले संस्कृत छन्दका नियमभित्रै रहेर छन्दोबद्ध कवितालाई सरल र बहुसङ्ख्यक नेपाली पाठकले बुझ्ने स्तरमा उकालेको मानिन्छ ।

अल्पायुमै पत्नी गौरीको निधन भएपछि उनले अत्यन्त प्रभावकारी शैलीमा शोककाव्यको रचना गरे जुन उनको काव्य यात्राको कोशेढुंगा सावित भयो । त्यसपछि उनले महाकाली घिमिरेसंँग विवाह गरे । लमजुङको पुस्तुन बाहुन डाँडाबाट काठमाडौँ आएका घिमिरेका काव्यकृतिमा मस्र्याङ्दी नदी र त्यहाँको लोकजीवनले अत्यन्त महत्वपूर्ण पाश्र्वभूमिको काम गरेका छन् । उनी नेपाली कवितामा पूर्वीय दार्शनिक भावभूमि र प्रखर राष्ट्रवादका हिमायती थिए । उनको ऋतम्भरा महाकाव्य लेखन अन्तिम चरणमा थियो ।

विसं २०७४ माघ २६ गते उनलाई नेपाली सेनाले मानार्थ सहायक रथीको दर्जा दिएको थियो भने सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साल फागुन २ गते जङ्गीअड्डामा आयोजित समारोहमा दर्जानी चिह्न प्रदान गरेकी थिइन् । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपतिसम्म भएका उनलाई विसं २०६० मा राष्ट्रकवि उपाधि दिइएको थियो ।

घिमिरेका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका “गाउँछ गीत नेपाली” जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका छन् ।

उनले असंख्य कविताहरु, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्ध जस्ता अनेकौं विधा-उपविधाहरूमा साहित्य सिर्जना दिँदै आइरहेका थिए ।घिमिरेले २०५४ सालमा ‘हिमालपारी हिमालवारी’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

उनले राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ‘मनको बाँध’ चलचित्रको ‘फूलको थुङ्गा बगेर गयो’ तथा नारायण गोपालले गाएको ‘आजै र राति के देखेँ सपना’ जस्ता कर्णप्रिय गीतहरु पनि रचेका थिए ।

घिमिरेकी कान्छी पत्नी महाकालीको ८६ वर्षकी छन् । घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उनले ‘गौरी’ शोककाव्य लेखेका थिए । उनको यो शोककाव्य लोकप्रिय कृतिमा पर्छ । घिमिरेको अन्त्येष्टि बुधबार गर्ने तयारी भएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको छ ।