७ आश्विन २०८१, सोमबार

काँग्रेस नवलपरासीका उपसभापतिको कोरोना संक्रमणवाट मृत्यु


सुवाशचन्द्र गिरी

ललितपुर, भदौ २ । नेपाली काँग्रेस नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको छ । पाटन अस्पताल ललितपुरमा उपचाररत नवलपरासी सुस्ता पश्चिमका स्थायी बासिन्दा उनको आज बिहान ६ बजे मृत्यु भएको हो ।

उनलाई प्रादेशिक अस्पताल भैरहवामा भदौ २८ गते कोरोना पुष्टि भएको थियो। कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएको र पुनः मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालमा एक दिन भर्ना भएर उपचार गराएका गिरीलाई थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो । अहिले उनको शव कसरी व्यवस्थापन गर्नेबारे छलफल भइरहेको अस्पतालले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १११ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !