८ बैशाख २०८१, शनिबार

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु


मृत्यु

वीरगञ्ज, साउन १७ । पर्सा जिल्लाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचाररत १ जना महिलाको कोरोना भाइरस (कोभिड १९) संक्रमणवाट मृत्यु भएको छ । सुगरबाट ग्रसित महिलामा ज्वरो, निमोनिया र हाईपर टेनसन भएपछि उपचारका लागि साउन १४ गते बुधबार उक्त अस्पतालमा भर्ना भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीय महिलाको हिजो शुक्रबार बिहान मृत्यु भएको थियो ।

उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृत्यु हुनु अघि महिलाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । शुक्रबार अबेर राति आएको रिपोर्टमा मृतक महिलामा कोरोना संक्रमण पोजेटिभ देखाएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

शुक्रबार राति आएको रिपोर्टमा ६४ जनामा संक्रमण देखिएको र त्यसमध्ये बयोधामा निधन भएकी महिलामा पनि संक्रमण रहेको पुष्टि भएको थियो । हिजो बिहान १०:१२ बजे मृत्यु भएकी महिलाको शव अहिलेसम्म पनि अस्पतालमा नै रहेको छ ।

उनको शवको व्यवस्थापन गर्ने तयारी भएको नारायणी अस्पतालले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !