८ मंसिर २०८१, शनिबार

२ दिनअघि आत्महत्या गरेका रोल्पाका युवामा देखियो कोरोना संक्रमण


आत्महत्या

दाङ, असार १९ । २ दिनअघि आत्महत्या गरेका रोल्पाका १ जना युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । असार १० गते दुबईबाट आएका गंगादेव गाउँपालिका-५ का ३१ वर्षीय एभान सार्कीले बुधबार दिउँसो १ बजेतिर झुण्डिएर आत्महत्या गरेका थिए।

मृत्युपछि उनको स्वाब पिसिआर परीक्षणका लागि निकालिएको थियो। दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा शुक्रबार एभानमा कोरोना पुष्टि भएको हो । आत्महत्या गरेका सार्कीको शव भने पोष्टमार्टम गर्ने भनेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले सार्कीको शव रोल्पा नै पठाउने वा तुलसीपुरमै डिस्पोज गर्ने भन्ने बारेमा टुंगो लागि नसकेको बताएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सकभर तुलसीपुरमै शव व्यवस्थापन गर्ने गरी छलफल भइरहेको बताएका छन् ।

रोल्पाका जिल्ला प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले आत्महत्या गरेका सार्कीलाई गाउँकै काका नाता पर्ने व्यक्तिको खाली घरमा होम क्वारेन्टिनमा एक्लै राखिएको थियो।विद्यालयमा निर्मित नजिकको क्वारेन्टिन प्याक भएको हुँदा उनलाई परिवारको सल्लाहमा त्यसरी खाली घरमा एक्लै राखिएको थियो । स्रोतका अनुसार भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरुले सार्की सँगै बस्न नमानेपछि उनलाई खाली घरको होम क्वारेन्टिनमा एक्लै राखिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !