सिन्धुली, असार १२ । सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत १ जना महिलाको मृत्यु भएको छ । महोत्तरीको पाटु घर भएकी २१ वर्षीया महिलाको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो ।
अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि महिला बिहीबार दिउँसो अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । अस्पतालकाका अनुसार उनलाई आइसोलेसनमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको हो ।
यही असार ३ गते पाटुबाट सिन्धुलीको घ्याङलेख गाउँपालिका १, सिम्ले स्थित माइती घरमा आएर बसेकी ती महिलालाई उपचारमा ल्याउन ढिला हुँदा मृत्यु भएको हो । मृत्यु भएकी महिलामा कोभिड-१९ को संक्रमणको लक्षण देखिएकाले शुक्रबार बिहान उनको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइएको छ ।
मृतक महलिाको शव व्यवस्थापन गर्न र उनको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्न भनिएको छ । रिपोर्ट नआएपनि उनको सम्पर्कमा रहेका आफन्तहरुलाई नै स्वास्थ्य सुरक्षा अपनाएर शव व्यवस्थापनका लागि भनिएको हो ।
अस्पतालका अनुसार मृतकको पीसीआर रिपोर्ट नआएसम्म उनको सम्पर्कमा रहेका आफन्त र उपचारमा संलग्न डाक्टर लगायतका कर्मचारीलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।