४ बैशाख २०८१, मंगलबार

शिक्षाविद् एवम् समाजसेवी अंगुरबाबा जोशीको निधन


अंगुरबाबा जोशीको निधन

काठमाडौं, असार ६ । अग्रज शिक्षाविद् एवम् समाजसेवी अंगुरबाबा जोशीको निधन भएको छ । ८९ वर्षको उमेरमा जोशीको काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा आज शनिबार दिउँसो पौने ३ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

३ सातादेखि न्युरो अस्पतालमा उपचारत जोशीको ब्रेन ह्यामरेजका कारण उपचारकै क्रममा शनिबार निधन भएको हो । करिब २ दशकअघि घाँटीमा क्यान्सर देखिएपछि गरिएको शल्यक्रियाको क्रममा उनको अनुहार बांगिएको थियो । त्यसपछि उनलाई स्तन क्यान्सर समेत भएको थियो ।

जोशीको जन्म सन् १९३२ अगस्ट १५ मा काठमाडौंको डिल्लीबजारमा भएको थियो । जोशीको कलिलै उमेरमा नेपालका पहिलो आणविक वैज्ञानिक बलराम जोशीसँग विवाह भएको थियो । त्यसपछि शिक्षा आर्जन गरेकी थिइन् ।

२००७ सालमा एसएलसी उत्तीर्ण गरेकी जोशीले पतिसँगै वनारसबाट राजनीतिशास्त्र र संस्कृत विषयमा बिए शिक्षा हासिल गरेकी थिइन् । त्यसपछि बेलायतबाट ब्यारिस्टर (कानुनमा अधिवक्ता) बन्ने पहिलो महिला हुन् । साथै क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुन् ।

जोशी पद्माकन्या क्याम्पसको संस्थापक हुन् । उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख समेत हुन् । विसं २०१९ मा बेलायतबाट फर्केपछि जोशीले १८ वर्ष पद्मकन्या क्याम्पसको प्रमुख भएर काम गरेकी थिइन् । उक्त क्याम्पसमा पढ्ने छात्राले पहिरिने पोशाक गेरु रंगको सारी र चोला जोशीले लागू गरेकी थिइन् ।

जोशीका २ जना छोरी प्रभा र ज्योति, १ जना छोरा किरणराज तथा बुहारी रुपा जोशी र १०७ वर्षकी सासु आमा चन्द्रकुमारी जोशी छन् । जोशीको आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार हुने पारिवारिक स्रोतले जानकारी दिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !