१४ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो


मृत्यु

काठमाडौं, जेठ ३१ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणमा वीरगञ्जको घण्टाघरमा मृत फेला परेका ब्यक्ति र वीरगञ्ज हेल्थ केयर उपचारका क्रममा मृत्यु भएका बाराका ५ वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो ।

पर्साको वीरगन्ज घण्टाघर नजिकै बेवारिसे पुरुषको शवमा कोरोना पुष्टि भएको छ । शुक्रबार राति गत जेठ २८ गते बेवारिसे अवस्थामा भेटिएको १ जना पुरुषको शव र अन्य ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जेठ २८ गते बेवारिसे अवस्थामा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जानकारी दिएको छ । मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन ।

उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । बाराको निजगढ नगरपालिका-६ योजनाटोल निवासी ती बालकलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो ।

ती बालकमा निमोनिया र ज्वरो देखिएपछि आकस्मिक कक्षमै आरडीटी परिक्षण गरिएको थियो । आरडीटी पोजिटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा सारेर नारायणी अस्पतालको टोली बोलाइएको थियो । नारायणीको टोलीले गरेको आरडीटी परीक्षण पनि पोजिटिभ आएपछि थ्रोट स्वाब संकलन गरिएको थियो । नारायणी अस्पतालको ल्याबमा टेस्ट रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ । सम्भवत: आज दिउसो हुने नियमित पत्रकार ब्रिफिंगमा यसको औपचारिक पुष्टि हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !