१२ असार २०८१, बुधबार

भ्रामक श्रव्य सामग्री सामाजिक सञ्जालमा राख्ने १ जना पक्राउ


Arrested accused

काठमाडौँ, ८ चैत । नेपाल प्रहरीले कोभिड-१९ को सङ्क्रमण नेपालमा देखिएको भन्दै भ्रामक श्रव्य सामग्री (अडियो) बनाइ सामाजिक सञ्जालमा राख्ने एकजनालाई आज पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

थापा मगरलाई साइबर अपराधसँगै सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरमा प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । मगरले विना दर्ता सञ्चालन भएको ‘झोर्ले न्युज डट कम’का सञ्चालन भएको बताइएको छ ।

नेपालमा कोरोनाको सङ्क्रमण देखिएको र केहीको मृत्युसमेत भएको भनी उनले भ्रामक श्रव्य सामग्री (अडियो) रेकर्ड गरेर सामाजिक सञ्जालमा राखेका थिए । एक व्यक्तिलाई सम्बोधन गरेर रेकर्ड गरिएको उक्त अडियो एक मिनेटको छ । अडियोमा नर्भिक अस्पतालका कर्मचारीले दिएको जानकारी भनेर उल्लेख गरिएको छ । उक्त अडियोका विषयमा सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ भने जनमानसमा भ्रम सिर्जना भएको थियो ।

प्रहरीले गलत हल्लाका पछि नलागी सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्न आग्रह समेत गरेको छ । सरकारले गलत सूचना सार्वजनिक गर्नेलाई कारवाही गर्ने जनाइसकेको छ । नर्भिक इन्टरनेशनल अस्पतालले कोभिड-१९ का बिरामी फेला नपरेको स्पष्ट पारिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !