८ आश्विन २०८१, मंगलबार

मानव बेचबिखन : मुद्दा चलाउनै समस्या


उजुरी

१५ साउन, काठमाडौं । मानव बेचबिखनका मुद्दा चलाउनै समस्या हुने गरेको मानवअधिकारकर्मीहरुले बताएका छन् । बेचबिखनमा संलग्न दलालहरुले नयाँ शैली अपनाउन थालेपछि मुद्दा चलाउन समस्या भएको उनीहरुको भनाइ छ ।

अन्तरर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका अवसर पारेर न्यायमा पहुँच कार्यक्रमको आर्थिक सहयोगमा आवाज र सुन्दर नेपाल संस्थाले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमका सहभागी मानव अधिकारकर्मीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा अधिवक्ता एवं मानव अधिकारकर्मी गीता कोइरालाले दलालहरुले बेचबिखनको नयाँ शैली अपनाउँदा उद्धार गर्न समस्या भएको बताउनुभयो । “बेचबिखनमा संलग्न दलालहरुले अभावग्रस्त ठाउँ तथा गरिबीलाई हेर्दछन्”, उहाँले भन्नुभयो, “त्यसैगरी व्यक्ति, उसको स्वभाव र उमेर सबै बानीव्यहोरा हेरेर आफ्ना काम अघि बढाउँछन् ।”

आवाज संस्थाका कार्यक्रम संयोजक पवित्रा शाहीले पछिल्लो समय देशबाहिर भन्दा पनि आन्तरिक बेचबिखन बढिरहेको बताउनुभयो । बेचबिखनमा परेको व्यक्तिलाई नै आफू बेचिएको थाहा नहुने शाहीले बताउनुभयो । उहाँका अनुसार उजुरी गर्न पीडित पक्ष नै नआउने गरेको उहाँको भनाइ थियो ।

इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले सुर्खेत मानवबेचबिखनको हिसाबले जोखिम रहेको बताउनुभयो । विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन र तथ्याङ्कअनुसार कर्णाली प्रदेशको १० जिल्लामध्ये सुर्खेत जोखिममा रहेको बताउनुभयो ।

माइती नेपालले गरेको अध्ययनअनुसार सन् २०१८ मा जोखिमपूर्ण यात्राबाट ९०२ जनाको उद्धार गरेकामध्ये ३०६ जना कर्णाली प्रदेशका रहेका छन् । प्रदेशभित्र ११० जना सुर्खेत जिल्लाका रहेका छन् ।

इन्सेकका प्रदेश संयोजक सुवेदीका अनुसार बालविवाह, गरिबी, बेरोजगार र महिला हिंसाका कारण बेचबिखनका घटना हुने गरेको बताउनुभयो । पछिल्लो समय कीर्ते मायाजाल र विवाह तथा पढाउने, गरगहना किन्ने जस्ता आश्वासन देखाएर पनि मानव बेचबिखन हुने गरेको पाइएको उहाँको भनाइ थियो ।

गरिबी न्यूनीकरण तथा आर्थिक सबलीकरण गराएमा मानव बेचबिखनको अन्त्य हुनसक्ने उहाँको भनाइ थियो । कार्यक्रममा न्यायमा पहुँच कार्यक्रमका कानूनी सल्लाहकार चङ्ख सावदले मानव बेचबिखन भएमा जसले पनि उजुरी गर्नसक्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरञ्जन शर्माले दलालले नयाँ शैली अपनाउँदा र पीडितले बयान फेर्दा प्रहरीलाई अनुसन्धान गर्न अप्ठेरो परेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !