७ आश्विन २०८१, सोमबार

लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ


पक्राउ

लहान, २४ असार । प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेका महतोको घरमा खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर छ किलो ३०० ग्राम बरामद भएको र निजको शरीर तलासी गर्दा नगद रु २२ हजार ८१० र सामसुङ कम्पनीको मोबाइल एक थानसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।

यस्तै प्रहरीले सिरहा नगरपालिका–१९ दशगजाबाट करीब रु ५० हजार मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको बीआर३२एच ९००६ नंको मोटरसाइकललाई शङ्का लागेर जाँच गर्दा तीन कार्टुन बियर, दुई कार्टुन सोफिया मदिरा, एक कार्टुन ब्ल्याक रक्सी बरामद गरेको छ ।

पोखरीमा डुबेर नाबालिकाको मृत्यु

पोखरीमा डुबेर सिरहाको औरही गाउँपालिका–५ बबनटोलीमा एक नाबालिकाको मृत्यु भएको छ । सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर स्थानीय भरत यादवको अढाई वर्षीया छोरी अन्सु यादवको मृत्यु भएको हो ।
पोखरीमा डुबेर सिकिस्त भएकी अन्सुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र औरही लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !