१६ चैत, बाँके । बाँकेमा गएराति आफ्नै श्रीमतीको गोली हानी हत्या भएको छ । डुडुवा गाउँपालिका ३ बनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती शान्तिदेवी बर्माको गोली हानी हत्या गरेका हुन् ।
गएराति ११ः३० बजे सञ्जयकुमारले आफ्नै नाममा रहेको बाह्र बोरको बन्दुकले हानेर छोरीसँगै सुतिरहेकी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता इन्स्पेक्टर रणबहादुर बिष्टले जानकारी दिए ।
बिष्टका अनुसार, कोखा र दाहिने हातमा गोली लागेको शान्तिदेवीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले गोली हानी श्रीमतीको हत्या गर्ने सञ्जयकुमारलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार, मानसिक रोगको औषधि सेवन गरिरहेका सञ्जयकुमारले वयानका क्रममा घरमा काम गर्ने नोकरसँग श्रीमतीले लसपस गरेकाले हत्या गरेको बताएका छन् । नियन्त्रणमा रहेका सञ्जयकुमारमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।