दमौली, २५ कात्तिक । तनहुँको भीमाद नगरपालिका–२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाविरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
लागुऔषध सहित तीन पक्राउ
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ बाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ का ३० वर्षीय मनोज क्षेत्री र गोरखाको आरुपोखरीथोक घर भई शुक्लागण्डकी नगरपालिका–२ बस्ने रवि गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट एक सय चार थान डाइजेपाम, ८९ थान नुफिन र ९३ थान फेनारगन गरी दुई सय ८६ थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उपर लागुऔषध मुद्दा दर्ता गरिएको छ ।