९ आश्विन २०८१, बुधबार

खोलामा डुबेर बालकको मृत्यु


मृत्यु

जलेश्वर, १५ भदौ । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको विग्ही खोलामा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी गापा–१ पर्साटोल बस्ने मो.उवेस नट्टका छोरा २ वर्षीय मो.ईरफान नट्ट रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

खोला छेउमै रहेको सो टोलमा बस्ने बालक नट्ट खोलाको बाँधमाथि खेलिरहेका बेला अचानक लडेर खोलामा पुगेपछि खोलाले बालकलाई बगाएर लगेको थियो । मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

हतियारधारी डाकाको समूहद्वारा १० लाखको डकैती
महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा गएराति हतियारीधारी डाकाको समूहले रु १० लाख बढीको डकैती गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार शनिबार मध्यराति आठ÷नौ जनाको सङ्ख्यामा हतियारधारी डाकाको समूहले मनरासिस्वा नपा–३ सोनौल गाउँमा दुई जनाको घरबाट लाखाँैको धनमाल लुटेर लगेका छन् ।

उहाँका अनुसार आधा घण्टाको समयभित्र सोनौलका रामलोचन राउत र सियारामशरण राउतको घरबाट डाकाको समूहले नगद रु दुई लाख ५० हजार, छ तोला सुनका गरगहना, ६० तोला चाँदीका गरगहना, मोबाइल तथा अन्य धनमाल गरी रु १० लाख बढीको धनमाल लुटेर लगेका हुन् ।

साथै डाकाको प्रतिकारमा उत्रेका धरमूली रामलोचन राउतको बाँया खुट्टामा बञ्चरोले काटेर उहाँलाई घाइतेसमेत बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । राति नै डकैतीको सूचना पाएलगत्तै प्रहरीचौकी इटहर्वाकट्टी र इलाका प्रहरी कार्यालय बलवाबाट प्रहरी टोली घटनास्थल पुगे पनि डाकाले सबैथोक लुटपाट गरेर भागिसकेका थिए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !