२६ पुस २०८१, शुक्रबार

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना : १ जनाको मृत्यु, दुलहा-दुलहीसहित ११ घाइते


दुर्घटना

कैलाली । बैतडीमा जन्ती सवार जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुर्घटनामा दुलहा-दुलहीसहित ११ जना घाइते भएका छन् । बैतडीको पाटन–खोड्पे सडक खण्ड अन्तर्गत घट्टेगाड भन्ने स्थानमा जिप दुर्घटना हुँदा दशरथचन्द नगरपालिका-९ का ५५ वर्षीय देवीलाल जोशीको मृत्यु भएको हो ।

जन्ती लिएर कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि फर्कंदै गर्दा सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ बजेर ५० मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दशरथचन्द नगरपालिका–९ का चालक लक्ष्मीदत्त जोशीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडी स्रोतले जानकारी दिए । उनलाई प्राथमिक स्वास्थ्य चौकी पाटनबाट थप उपचारको लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ ।

दशरथचन्द नगरपालिका-९ कै शिवदत्त जोशी पनि गम्भीर घाइते छन् । उनको प्राथमिक स्वास्थ्य चौकी पाटनबाट उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका बेहुला-बेहुलीसहित अन्यको पनि स्वास्थ्य चौकी पाटनमा उपचार भइरहेको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय पाटनबाट १० किलोमिटर टाढा पर्दछ । जिप सडकबाट सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने अझसम्म खुल्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !