धादिङ । प्युठानबाट काठमाडौं आउँदै गरेको जिप आज बिहान त्रिशूली नदीमा खस्दा आमा छोरीसहित ३ जना बेपत्ता हुनुका साथै एक जना घाइते भएका छन् । लु १ च ९७३१ नम्बरको जिप आज बिहान आज बिहान ५ः३० बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गोताखोर सहितको प्रहरी टोली परिचालन गरी बेपत्ताको खोजी भइरहेतापनि जिप फेला परिसकेकाे छैन । गाडीका चालक प्युठानको झिम्रुक गाउँपालिका-१ का २३ वर्षीय सूर्य केसी, यात्रु ३३ वर्षीया जमुना रोक्का र उनकी १५ वर्षीया बिरामी छोरी जिनिसा रोक्का नदीमा बेपत्ता भएका छन् ।
जमुनाका ३८ वर्षीय श्रीमान मुकुन्द बहादुर रोक्का भने नदीबाट पौडी खेलेर बाँच्न सफल भएतापनि घाइते भएका छन् । उनकाे अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । त्रिशूलीमा खसेको पिकअप पानीले डुबेर नदेखिने अवस्थामा रहेको छ ।