खोटाङ, कार्तिक ११ । खोटाङमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप बराहापोखरी गाउँपालिका-५ सोह्रखानीमा हिजो सोमबार साँझ ७ बजे दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त जिप दुर्घटनामा बराहापोखरी गाउँपालिका-६ का ४५ वर्षीय दधुमान राई, बराहापोखरी-६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका-८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको हो ।
साथै सो दुर्घटनामा बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनकै ९ महिने बच्चा दिप्सन राई, चौदण्डीगढी नगरपालिका-८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी-६ का ३२ वर्षीया नविना राई घाइते भएका हुन् ।
घाइतेहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार पुर्याइएको खोटाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि उदयपुर पठाउने तयारी भईरहेको छ ।