१४ मंसिर २०८१, शुक्रबार

अभियुक्त २८ वर्षपछि पक्राउ


पक्राउ

रुकुम पश्चिम, ३ जेठ । जिल्लामा एक फरार प्रतिवादी २८ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रुकुमले विसं २०४८ वैशाख ९ गते नौ वर्ष सात महीना सात दिन कैद सजाय सुनाएका ६० वर्षीय मनवीर कामीलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको हो ।

सानीभेरी गाउँपालिका–४ गरायलाका कामीलाई आठबीसकोट नगरपालिका–१४ घेत्मामा परिचय लुकाइ बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

कामीलाई अहिले हिरासतमा राखिएको र सजाय कार्यान्वयनका लागि जिल्ला कारागार पठाइने बताइएको छ ।

लुटेरा पक्राउ

आँखामा खुर्सानीको धुलो छर्किएर कुटपिट गरी लुटपाट गर्ने तीन युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । भूमे गाउँपालिका–६ का डम्बर बुढा र उहाँकी श्रीमती सीता घर्तीलाई आँखामा खुर्सानीको धुलो छर्किएर कुटपिट गरी नगद रु एक लाख लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका–१ रोकाजाका २० वर्षीय टेकबहादुर बुढा, सोही ठाउँका १९ वर्षीय प्रकाश बुढा र २२ वर्षीय कर्णबहादुर बुढा रहेका छन् । पक्राउ परेकामध्ये टेकबहादुरले बुढा दम्पतीबाट गतवर्ष साउनमा रातो च्याउ उपलब्ध गराउने भन्दै रु ८५ हजार लिएको प्रहरीले जनाएको छ ।

पटक–पटक पैसा माग्दा च्याउ पनि नपाएको र रकमसमेत फिर्ता नपाएपछि बुढा दम्पती यार्साको व्यापारका लागि आठबीसकोट हुँदै डोल्पा जाने क्रममा टेकबहादुरले आफूले लिएको पैसा फिर्ता दिन्छु भन्दै लगेर आठबीसकोट–६ ढाटथल भन्ने ठाउँमा योजनाबद्ध रुपमा आक्रमण गरी पैसा लुटेको प्रहरीको भनाइ छ ।

टेकबहादुर र उनका साथीले ज्यान मार्ने उद्देश्यले नै बुढा दम्पतीमाथि आक्रमण गरेको तर उनीहरु चिच्याएपछि स्थानीयवासीले थाहा पाउँदा उनीहरु नगद लिएर भागेका प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !