१४ मंसिर २०८१, शुक्रबार

सुन धितो लिएर चर्को ब्याज असुल्ने पक्राउ


पक्राउ

६ वैशाख, घोराही । गत असोजमा तुलसीपुरकी १९ वर्षीया विपना रेग्मीले तुलसीपुर उपमहानगरपालिका –६ का तुलसीराम गुप्तालाई आफ्नो भएको सुनको गहना धितो राखेर ऋण लैजानुभयो । उहाँले वार्षिक १५ प्रतिशत ब्याज दिने शर्तमा ६० वर्षीय गुप्तासँग रु ४० हजार ऋण लैजानुभएको थियो । उहाँले यही वैशाख १ गते सावाँसहित तोकिएको सबै ब्याज पनि बुझाउनुभयो । सुन फिर्ता माग्दा गुप्ताले ‘१५ प्रतिशतले हुँदैन ४८ प्रतिशत ब्याज दिए मात्र म सुन दिन्छु ।’ भन्दै सुन दिन मानेनन् । गुप्ताले कुनै पनि हालतमा सुन नदिने बताएपछि रेग्मीले जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दाको निवेदन दिनुभयो ।

उहाँको जाहेरी दरखास्तका आधारमा जिल्ला प्रहरी कार्यालयले गुप्तालाई पक्राउ ग¥यो । पक्राउ गरेसँगै गुप्ताको घरकोठा खानतलासी गर्ने क्रममा अन्य विभिन्न मानिसका २०६ पोका सुनका गरगहना फलामको घर्रामा राखेको भेटियो । गुप्ताले लामो समयदेखि त्यहाँका मानिसका गरगहना राख्ने र चर्को व्याजदरमा ऋण लगानी गर्ने गरेको पाएपछि गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

“मान्छेको विवरण र सुन राखेको भेटाएका छौँ”, शाहले भन्नुभयो “अवैध रुपमा सुनको कारोवार गरेको हुँदा र बरामद गरिएका अन्य सुनलगायतका सबुद प्रमाणको आधारमा गुप्ताविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ विपरीतको कसूरमा मुद्दा चलाइएको छ ।” उहाँले गुप्तालाई जिल्ला अदालतले थप पाँच दिन म्याद दिएको हुँदा थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । बरामद भएका सुनका पोका अदालतको आदेशपछि मात्रै खोलिने हुँदा के कति छन् भन्ने बारेमा जानकारी नभएको बताइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !