१४ आश्विन २०८१, सोमबार

भक्तपुरमा बर्डफ्लु, दुई हजार ९ सय कुखुरा नष्ट


२१ चैत, भक्तपुर । भक्तपुरका एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु भेटिएपछि सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरा नष्ट गरिएको छ ।

उक्त फार्ममा २८ हप्ता पुगेका कुखरामा एचवानएनवान बर्डफ्लु भएको भेटिएपछि प्रहरीको रोहबरमा दुई हजार ९८५ कुखुरा, १५० किलो दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रका पशुरोग विज्ञ डा चन्द्र ढकालले जानकारी दिनुभयो ।

वरिष्ठ पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त फार्मको चार किल्लाभित्रका कुखुरा नष्ट गरी खाडलमा पुरिएकोे पशु चिकित्सक डा ढकालले जानकारी दिनुभयो । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्किएर निःसङ्क्रमण गरिएको छ ।

उपभोक्ताले भने यस वर्ष पनि विभिन्न ठाउँका कुखुरा फार्ममा मरेका कुखुरालाई राति गाड्ने र जिउँदो कुखुरालाई बजारमा बिक्री गरेको गुनासो आएको बताएका छन् । जिल्ला प्रशासन कार्यालयले विगतमा जस्तै यस वर्ष पनि नेतृत्व लिएर त्यस्ता कार्य रोक्न र बर्डफ्लु न्यूनीकरणमा ध्यान दिनुपर्नेमा त्यसो गर्न नसकेको बताएका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !