१५ आश्विन २०८१, मंगलबार

लागुऔषधसहित तीन पक्राउ


पक्राउ

२१ चैत, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा तथा अन्य लागुऔषधसहित पक्राउ गरिएका तीन जनालाई आज सार्वजनिक गरेको छ ।

प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वको प्रहरी टोलीले हेटौँडा–३ को तिनताप्के भन्ने स्थानबाट २१२ किलो गाँजा लोड गरिएको पिकअप गाडीसहित चालक र अर्को एक जनालाई नियन्त्रणमा लिएको जिप्रका मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा महोत्तरी बर्दिवास ११ बस्ने ३६ वर्षीय पिकअप चालक रामजस यादव र सोही ठाउँ बस्ने १९ वर्षीय उज्ज्वल गुर्मछाने मगर रहेका छन् । प्रहरीका अनुसार उनीहरुले प्लाष्टिकमा बेरेर मनहरीबाट हेटौँडातर्फ ल्याउँदै गरेको ३० वटा पोका बनाएर लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको हो ।

त्यस्तै प्रतिबन्धित लागुऔषध नाइटोभेट १२७ ट्यबलेट, डाइजेल्याब १० एम्बुल, ब्युनोर्फिन १० एम्पुल र फेनार्गन १० एम्पुलसहित चितवन राप्ती नगरपालिकाका ३७ वर्षीय लक्षबहादुर राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !