२९ फागुन, दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–खैरेनीटार सडकखण्डमा आज भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीया प्रतिक्षा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४८५६ नं को ट्रकले सोही दिशाबाट आउँदै गरेको ग ११ प १८५६ नं को स्कुटरलाई म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्कर दिँदा भण्डारी घाइते हुनुभएको थियो ।
उहाँको दमौली अस्पतालमा उपचारको क्रममा बिहान ११ः२५ मा मृत्यु भएको प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो । भण्डारी म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारी हुन् । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । (रासस)