१२ मंसिर २०८१, बुधबार

बालिका हत्याको आरोपमा दुई पक्राउ


crimes

२९ कात्तिक, गाईघाट, उदयपुर । बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया एन्जीना खड्काको गत शनिबार हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको स्थानीयवासी १४ वर्षीय बहादुर राई (नाम परिवर्तन) र १७ वर्षीय विपललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी बालिका खड्कालाई एक्लै देखेर बलात्कार गरी उनको हत्या गरेको दुबै जना अभियुक्तले स्वीकार गरेको बयान प्रहरीलाई दिइएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो ।

बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे नजिकैको खरबारी पाखाको एक रुखको फेदमा शरीरमा लगाएको कपडा च्यातिएको, पेन्टी च्यातिएको घाँटीमा नीलडाम र मुखमा कपडा खादेको मृतावस्थामा बालिका भेटिएको प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालीम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शव परीक्षणका लागि सुनसरीको बिपी मेमोरियल अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा प्रहरीले छ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुईजना मात्र भएको पुष्टि भएपछि आज अभियुक्तलाई सार्वजनिक गरेको र अन्यलाई छाडिएको पनि प्रहरी उपरीक्षक राईले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !