७ मंसिर २०८१, शुक्रबार

विद्यालयमा भएको आगलागीमा परी ११ को मृत्यु, २० घाइते


आगलागी

२७ कात्तिक, कम्पाला । युगाण्डाको एउटा विद्यालयको छात्रावासमा भएको आगलागीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

सुतिरहेका बेला भएको आगलागीका कारण अरु २० जना जलेर घाइते पनि भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

विद्यालयका प्रधानाध्यापक हेनरी सुबुगाले घटनामा दोषी भएको आशङ्कामा केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

युगाण्डाको दक्षिणी क्षेत्रमा पर्ने राकैमा रहेको सेन्ट बर्नाड सेकेन्डरी स्कुलको छात्राबासमा आगलागी भएको हो । गत आइतबार राती आगलागी भएको समाचारमा जनाइएको छ ।

आगलागी गराउनेले बाहिरबाट ढोका बन्द गरिदिएर विद्यार्थीहरुलाई भित्र थुनेर बाहिर निस्कन नमिल्ने बनाएर आगलागी गराएको प्रहरीले जनाएको छ ।

बाहिरबाट ढोका बन्द गरिदिएकाले उद्धार गर्न पनि कठिनाई भएको प्रहरी अधिकारीहरुको भनाई छ । ढोका नलगाइएको भए मानवीय क्षती पनि कम हुने प्रधानाध्यापक सुबेगाले बताउनुभयो ।

कतिपय शवहरु अत्यधिक जलेर पहिचान गर्न गाह्रो भएकाले प्रहरीले डिएनए परिक्षण गर्न लगाइएको उहाँले जानकारी दिनुभयो ।

क्षेत्रीय प्रहरी प्रमुख बेन नुवामान्याले एएफपीसँगको कुराकानीमा ११ जना विद्यार्थीको जलेर मृत्यु भएको पुष्टी गर्नुभएको छ ।

आगलागीमा परेर जलेर घाइते भएका २० जनाको अस्पतालमा उपचार भइरहेको छ र उनीहरु अधिकांशको अवस्थार गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।

घटना भएको ठाउँ राखै जिल्ला देशको राजधानी काम्पाला देखि २८० किलोमिटर टाढा पर्दछ ।(रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !