१२ बैशाख २०८१, बुधबार

रुकुम पूर्वमा भिषण बाढी : चुनबाङ बसपार्क बग्यो


बाढी

रुकुम पूर्व, ३२ जेठ । निरन्तर परेको वर्षाका कारण रुकुम(पूर्व), भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा लाखौ क्षति भएकोे छ । लाखर खोलामा बाढी आउँदा रु २५ लाखदेखि रु ३० लाखसम्मको क्षति भएको छ । बाढीबाट खोलाको स्वरुप नै परिवर्तन भएको छ ।

बाढीले चुनबाङको एक मात्र बसपार्क बगाएको छ । बसपार्क अहिले खोलामा परिणत भएको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार खोलामा रहेका तीन काठेपुल, दुई घट्ट र एउटा गुम्टी पसल बगेका छन् ।

लाखर खोलाको बाढीले भंँगेरी खोलामा रहेको एउटा पुल, गैरीगाउँ माथिल्लो बजार नजीकैको एउटा पुल र वडा कार्यालयसँगै जोडिएको अर्को पुल बगाएको वडाध्यक्ष पुनले बताउनुभयो ।

स्थानीयवासी दलप्रसाद विक र गणेश पुनका एकएक घट्टका साथै खलबहादुर विकको गुम्टी पसल बगाएको हो । यस्तै एउटा सार्वजनिक शौचालय र एक सय मिटर सडक पनि बगाएको छ भने एउटा प्रतीक्षालय पूर्णरुपले क्षतिग्रस्त भएको छ ।

चुनबाङमा दाङबाट मात्र सीधा गाडी चल्छ । बसपार्क नै बाढीले बगाएपछि चुनबाङमा अहिले पार्किङका लागि अर्को कुनै क्षेत्र नभएको वडाध्यक्ष पुनले बताउनुभयो । शुक्रबारदेखि परेको वर्षाका कारण शनिबार साँझसम्म पनि खोलामा पानीको बहाब नघटेपछि डोजर लगाएर खोला फर्काउने काम भइरहेको वडाध्यक्ष पुनले जानकारी दिनुभयो ।

बाढीकै कारण गैरीगाउँका केही घर जोखिममा परेको वडा कार्यालयले जनाएको छ । वर्षा शुरु नहँुदै बस्ती नजीकैको खोलामा बाढी आएपछि स्थानीयवासी त्रसित बनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु