११ बैशाख २०८१, मंगलबार

हानानो ओशिआना अर्थात् झारपातबाट जीवन्त कला


चिप्लेढुङ्गा, ८ जेठ । पोखराको माछापुच्छ्रे मार्गस्थित एक घरको आँगनमा टन्न झारपात सुकाइएको छ । छेउमा ढिकुर र भँगेरा चारो टिप्दै छन् । हरियो दूबोसहित रङ्गीबिरङ्गी फूलको सजावट उस्तै आकर्षक छ । ढोका छेउको सानो कुनामा बाँसको थाँक्रामा लौका झुण्डिरहेको छ । बन्दाबन्दीलाई उपयोग गर्दै आँगनमा रङ्ग्याइएका झारपातसँग कलाकार मिलन शेरचन खेल्दै हुनुहुन्छ ।

पोखराका एक सिद्धहस्त कलाकारका रुपमा आफ्नो पहिचान बनाउन सफल शेरचनले जापानी शैलीको हानानो ओशिआना अर्थात् झारपातबाट चित्र बनाउने कलाकारका रुपमा आफ्नो छवि बनाउनुभएको छ ।

आफूले समयसमयमा सङ्कलन गरेर बोरामा राखिएका झारपात रङ्ग्याउनु, सुकाउनु, उठाउनु अनि जीवन्त कलामा उतार्नु उहाँको पछिल्लो दिनचर्या हो । आँगनमा रङ्ग्याइएका झारपातलाई हातमा उठाउँदै शेरचनले भन्नुभयो, “बन्दाबन्दीमा साथीभाइले समय बिताउन निकै गाह्रो भयो भनेको सुन्छु तर मलाई दिन कति छिटो बित्छ पत्तै हुँदैन । सोच गरे, मोज हुन्छ भन्थे बूढापाका, हो रहेछ, बन्दाबन्दीअगावै बटुलेका झार अहिले केलाएर रङ्ग्याउन पाएकी छु”, निकै प्रफुल्ल मुद्रामा उहाँले भन्नुभयो ।

पोखरा महानगरपालिका –७ का उहाँ आफूले तयार गरेका चित्र सामाजिक सञ्जालमा पनि राख्ने गर्नहुन्छ । “मैले केही चित्र सामाजिक सञ्जालमा राख्ने गरेको छु, देशविदेशबाट पनि अर्डर आउँछ ”, हातमा आफूले बनाएको चित्र देखाउँदै उहाँले भन्नुभयो, “यो अमेरिकाबाट साथीले अर्डर गरेको हो, उनले पुरानो घर, टौवा, हिमाल भएको चित्र बनाइदिन भनेपछि यसलाई उतारेँ ।” उहाँले पोखरा फेवातालको शिरानतिर पर्ने पामेको दृश्य पनि साथीको अर्डर पाएपछि बनाइसक्नुभएको छ । शेरचन चित्रमा हिमाल राख्न खुब मन पराउनुहुन्छ ।

प्रकृतिसँग डुबेर सिर्जनामा तल्लीन हुँदा मानसिक रुपमा पनि समेत स्फूर्ति पाइने उहाँको अनुभव छ । “पोखरा आफैँमा सुन्दर शहर हो, तालतलैया, हिमाल, डाँडाँकाँडा मठमन्दिर यहाँको विशेषता हो, म यसलाई मेरो कलामा पनि उतार्छु, आनन्द लाग्छ सिर्जनामा रमाउँदा”, उहाँ भन्नुहुन्छ । कहिलेकाहीँ उहाँ महिला हिंसाका रुपहरुलाई पनि कलामार्फत उतार्ने गर्नुहुन्छ ।

पाँचवर्षे जापान बसाइमा जापानी साथी नोहोरा उमीबाट सिकेको यो कलालाई सन् १९९८ मा नेपाल भित्र्याउने आफू एक्लो महिला भएको जिकिर उहाँको छ । विसं २०३४ मा मकैको भुत्लाबाट बनाइएको पुतलीको चित्रलाई पोखरेली युवा साँस्कृतिक परिवारले महिला तथा बालबालिका हस्तकला प्रदर्शनीमा उत्कृष्ट ठानेर पुरस्कृत ग¥यो । यसले व्यावसायिक रुपमा अघि बढ्न उहाँलाई प्रेरणा मिल्यो ।

हानानो ओशिआना सुकाइएको झारपातको उचित सम्मिश्रण गरी जीवन्त कला सिर्जना हो । घरआँगन, करेसाबारी, यताउता डुल्दा मौसमी फूल तथा घाँसपात नै कला सिर्जनाका लागि उहाँका लागि उपयुक्त सामग्री बन्छ । “प्रकृतिमा थुप्रै घाँसपात छन्, लामो समय टिक्ने, सुकेपछि पनि कपडाजस्तै झट्ट नच्यातिने चिउरे घाँस, बाबियो, सिरु, बाह्रमासे फूलका पातहरु बढी उपयोगी हुन्छन्, रङ, गम र अन्य कुराको सहायताले यसलाई चित्रमा ढाल्न सकिन्छ ।” उहाँले आफ्ना सिर्जनालाई रु दुई सयदेखि १० हजारसम्म बिक्री गर्ने गरेको बताउनुभयो ।

चार्टर्ड एकाउण्टेण्ट अध्ययनरत उहाँकी छोरी समृद्धि पनि आमाको कला निकै सुन्दर हुने बताउनुहुन्छ । “मम्मी निकै सिर्जनामा दत्तचित्त भएर काम गर्नुहुन्छ, कहिलेकाहीँ आर्ट सकिएपछि सुझाव पनि माग्नुहुन्छ, मेरो धारणा राख्छु, मम्मीको काम क्रियटिभ लाग्छ । अहिलेको समय ‘पर्फेक्ट युटिलाइजेशन अफ टाइम’ हो ।” उहाँका सिर्जना अधिकांश प्राकृतिक एवं सांस्कृतिक विषयवस्तुसँग सम्बन्धित छ ।

छोरीलाई भने महिला हिंसाका विषयमा सन्देश दिने चित्र बढी मन पर्दाेरहेछ । छोरा समीप पनि भित्री बाहिर काममा सघाएर आमाको सिर्जनामा समय थपिदिनुहुन्छ । तरकारी बारीमा रमाउन मन पराउने उहाँका श्रीमान् सत्यनारायणले पत्नीको मेहनत र सिर्जनाको आफू एक प्रशंसक भएको बताउनुभयो । “उनको मेहनत लोभलाग्दो हुन्छ, उनले बनाएको चित्रहरु हेर्छु निकै राम्रो लाग्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !