७ जेष्ठ २०८१, सोमबार

चितवनका १७, नवलपुरका ५ र धादिङका १ जनामा कोरोना पुष्टि


कोरोना संक्रमण

भरतपुर, जेठ २६ । चितवनका १७ जनासहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले आज दिउसो गरेको फेसबुक प्रत्यक्ष प्रशारणमार्फत सो कुराको जानकारी दिएको हो ।

भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७, नवलपुरका ५ जना र धादिङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएका मध्ये २ जना चितवनका चिकित्सक छन् ।

शुक्रबार र शनिबार स्वाब संकलन गरी भरतपुर कोरोना ल्याबमा परीक्षण भएका २३ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत २५ बर्षीय पुरुष र ६६ वर्षीय महिलामा संक्रमण देखिएको भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीले जानकारी दिएका छन् ।

साथै भरतपुरकै नारायणी सामुदायिक हस्पिटलमा भरतपुर ३ का ६८ वर्षीय पुरुष बिरामीमा पनि कोरोना देखिएको छ । भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत ६५ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ । भरतपुर वडा ६ र २१ मा २ जना पुरुष र २ जना महिलामा कोरोना देखिएको छ । त्यस्तै भरतपुर-४ मा २१ वर्षीया युवतीमा कोरोना भेटिएको अस्पतालले जनाएको छ ।

माडी नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीया बालिका सहित ६ जनामा कोरोना देखिएको मेसु डा. तिवारीले बताए । भेटिएका हरुमा धादिङ जिल्लाका १ जना रहेका छन् । नवलपुरमा जिल्लाका ५ जना संक्रमित रहेका छन् ।

कोरोना संक्रमितमध्ये २ जना चिकित्सकहरु भरतपुरको एउटा निजी अस्पतालमा कार्यरत चिकित्सक भएको जनाइएको छ । उनीहरू कुन अस्पतालको भन्ने कुरा खुलाइएको छैन । उनीहरूको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !