१७ असार २०८१, सोमबार

भारतबाट नै आएका थिए कर्णालीका कोरोना संक्रमित


कोरोना भाइरस

५ जेठ, दैलेख । नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा कर्णाली प्रदेशमा पनि पहिलोपटक देखियो कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले सोमवार राती १०:१५ बजे सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको छ । दैलेख जिल्ला आठबिस-१ निवासी १ जना पुरुष कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगरमा गरेको परीक्षणमा पोजेटिभ देखिएपछि उनको भेरी अस्पतालमा कोभिड-१९ को पुन: परीक्षण गरिएको थियो ।

दैलेखका आठबीस नगरपालिका– १ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना संक्रमणको पुष्टि भएको हो । सात्तला स्थित लक्ष्मी माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टाइमा बसेका ती युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त क्वारेन्टाइनमा उनीसँग अरु ३९ जना बस्दै आएका छन् ।

भारतको आगराबाट फर्किएका संक्रमित युवा जेठ १ गते गाउँ आइपुगेका थिए । भारतले रेल सेवा सुरु गरेसँगै कर्णालीबासी पनि धमाधम फर्किन थालेका छन् । भारतका विभिन्न क्षेत्रबाट मानिसहरु कर्णालीमा भित्रिने क्रम बढेपछि कर्णाली प्रदेशमा जोखिम बढेको छ । भारतबाट आएका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि आठबीस नगरपालिका-१ सात्तलालाई पूर्ण रुपमा सिल गरिएको छ ।

नेपालमा आज राती फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।  नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३६ पुगेको छ । गुल्मीका कोरोना संक्रमितको १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना गरी २ जनाको कोरोना भाइरसको संक्रमणवाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा पनि पहिलोपटक देखियो कोरोना संक्रमण

आज एकैदिन देशभर ८० जनामा देखियो कोरोना संक्रमण

नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो, आज राती फेरि थपिए कोरोनाका नयाँ १८ संक्रमित

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !