१ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । आज बिहीबार बिहान कोरोना पोजिटिभ देखिएकी कपिलवस्तुकी बालिका उक्त अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना रहेको खुलेको छ । बालिकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा स्वाब परीक्षण गरिएको हो।
उनलाई ‘रेस्पिरेटोरी प्यापिलोम्याटोसिस’ (स्वासनलीमा मासु पलाएको) देखिएका कारण शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रहेको पाइएको हो ।
शिक्षण अस्पतालमा शल्यक्रिया गर्नका लागि भर्ना गरिएकी बालिकामा कोरोना पोजिटिभ देखिएपछि अहिले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु त्रसित भएका छन् ।
काठमाडौंमा सबैभन्दा कम उमेरको व्यक्तिमा कोरोना देखिएको यो पहिलो पटक हो । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्गाले अहिले अस्पतालमा मिटिङ बसिरहेको उल्लेख गर्दै थप विवरण केही समयपछि सार्वजनिक गरिने बताए । बालिकालाई अहिले शिक्षण अस्पतालको आइसोलेसनमा राखिएको छ।