६ जेष्ठ २०८१, आइतबार

निको भएका ३ जनामा पुनः कोरोना संक्रमण भएको पुष्टि


कोरोना पोजेटिभ

२३ वैशाख, काठमाडौं । एकपटक कोरोना भाइरस (कोभिड-१९) निको भएर घर फर्किएका ३ जनामा पुनः कोरोनाको संक्रमण देखिएको छ । रौतहटका १ जना युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका १ जना जमाती र काठमाडौँको पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा पुनः संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

वीरगञ्ज जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो । नारायणी अस्पतालमा २ हप्ता उपचारपछि ३ पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई बैशाख १४ गते डिस्चार्ज गरिएको थियो । तर स्वास्थ्यमा समस्या देखिएकोले दुबै जना वैशाख २१ गते फेरि भर्ना भई अस्पतालको आइसोलेनमा रहेका दुबैको कोराना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ । ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण वैशाख १ गते पुष्टि भएको थियो ।

पाटन अस्पतालमा उपचार गरेर आमा र छोरा दुवै ११ वैशाखमा निको भएर घर फर्किएका थिए । तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका ती पुरुषको रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ । उनकेा पाटन अस्पतालमै फेरि उपचार भइरहेको छ । यससँगै निको भएर पुनः संक्रमित हुनेको संख्या ३ जना पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !