५ आश्विन २०८१, शनिबार

कोरोना भाइरसका पछिल्लो १६ दिनमा १ लाख मानिसको मृत्यु


अमेरिकामा कोरोनावाट मृत्यु

एजेन्सी, १४ वैशाख । विश्वव्यापी महामारीकाको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को कारण पछिल्लो १६ दिनमा विश्वमा १ लाख मानिसको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २ लाख २ हजार ४५५ पुगेको छ । विश्वभर २८ लाख ९२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

गएको जनवरी ११ मा चीनको वुहान शहरमा कोभिड-१९ बाट पहिलो व्यक्तिको निधन भएपछि ९० दिनमा ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो । तर थप १ लाख भन्दा बढीको मृत्यु पछिल्लो १६ दिनमै भएको छ ।

कोभिड-१९ का कारण सबैभन्दा धेरै अमेरिकामा ५३ हजार ५११ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ लाख ३६ हजार भन्दा माथि पुगेको छ । विश्वका ५ वटा देशमा २० हजार भन्दा बढी मानिसको कोभिड-१९ बाट मृत्यु भएको छ । जस अनुसार इटलीमा २६ हजार ३८४, स्पेनमा २२ हजार ९०२, फ्रान्समा २२ हजार ६४८ र बेलायतमा २० हजार ३८१ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म विश्वभर २८ लाख ६८ हजार ५ सय ३९ जना संक्रमित फेला परिसकेका छन् । सबैभन्दा बढी अमेरिकामा ९ लाख २४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने स्पेनमा संक्रमितको संख्या २ लाख २३ हजार नाघेको छ । इटालीमा अहिलेसम्म १ लाख ९५ हजारभन्दा धेरै संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खोपको निर्माण तथा त्यसको वितरण व्यवस्थित गर्नका लागि योजनाहरु बनाइरहेको बताएको छ । तर डब्लुएचओले एकपटक कोरोना भाइरसको संक्रमण निको भएका व्यक्तिमा बनेको एन्टिबडीका कारण पुनः संक्रमणको जोखिम नरहने कुरा प्रमाणित नभएको बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !