७ मंसिर २०८१, शुक्रबार

कोरोना महामारीको समयमा अस्पताल नआउने ५ डाक्टरको जागिर चट


लुम्बिनी प्रादेशिक अस्पताल

चैत २६, रुपन्देही । कोरोना महामारीको समयमा अस्पताल नआउने ५ डाक्टरको जागिर चट भएको छ । प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले कोरोना महामारीको संकटमा पनि अस्पताल नजाने डाक्टरलाई कारवाही थालेको छ । लुम्बिनी प्रादेशिक अस्पतालबाट कारवाहीको शुरुवात गरिएको हो।

राज्य नै कोरोनासँग जुधिरहेका बेला बिनाजानकारी अस्पतालमा उपस्थित नभएका ५ जना डाक्टरहरुलाई कारवाही स्वरुप सेवाबाट हटाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र प्रसाद खनालले जनाएका छन् ।

रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. तारा प्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्कीलाई सेवाबाट हटाइएको डा. खनालले जनाएका छन् ।

करारमा नियुक्त भएका हटाइएका चिकित्सकहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित थिए ।  सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको बेलामा पनि सेवामा नखटिने डाक्टरलाई कारवाही गर्न निर्देशन दिइएको बताएका छन् ।

मन्त्री बरालले सुत्केरी विदा, काज क्रिया विदा र विरामी विदा वाहेकका विदा स्वीकृत नगर्न र बिनाजानकारी सेवामा अनुपस्थित हुने चिकित्सक, कर्मचारीलाई सेवाबाट हटाउन निर्देशन दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !