१२ बैशाख २०८१, बुधबार

कोरोना भाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती : राष्ट्रसंघ


एन्टोनियो गुटेरेस

१९ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस (कोभिड-१९) महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् । कोरोना भाइरस महामारीको सामाजिक आर्थिक प्रभाव सम्बन्धी एक राष्ट्रसंघीय प्रतिवेदन सार्वजनिक कार्यक्रममा महासचिव गुटेरसले यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका घटनासँग नहुने बताएका छन् ।

कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावना पनि उनले औंल्याएका छन् । ‘कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ, जुन कहिल्यै निम्तिएको थिएन,’ गुट्रेसले रिपोर्ट सार्वजनिक गर्दै भनेका छन् । न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा उनले भने, ‘यो नयाँ रोगले मानिसहरूको जीवन र जीविकामा असर गर्दै समाजहरूको मुटुमै प्रहार गरेको छ।’

उनले महामारीको प्रभाव कम गर्दै अन्त्य गर्नको लागि तत्काल सबैको सहकार्य सहितको स्वास्थ्य सहायता आवश्यक रहेको बताएका छन् । गुटेरसले कम विकसित देशहरूलाई सहयोग गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह गर्दै त्यसो नगरे डढेलोजसरी फैलिएको यस रोगका डरलाग्दा नतिजा सामना गर्नुपर्नेु बताएका पनि छन् ।

कोरोना भाइरसको महामारीले विश्वभर झण्डै २ करोड ५० लाख मानिसहरूले रोजगारी गुमाउने राष्ट्रसंघको अनुमान छ । विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानीको लहरमा ४० प्रतिशतले कमी आउने सो प्रतिवेदनमा जनाइएको छ। अमेरिकाले कडिकडाउका उपायहरू बढाइरहँदा ४ मध्ये ३ अमेरिकीहरू कुनै न कुनै प्रकारका ‘लकडाउन’ को सामना गरिरहेका वा गर्ने अवस्थामा पुगेका छन् । महामारीसँग जुझ्न भइरहेका प्रयासबीच विश्वभरका सेयर बजारहरूले यस वर्षको पहिलो ३ महिनामा तीन दशक यताकै ठूलो क्षति बेहोरेका छन्।

हालसम्म विश्वका ८ लाख ५७ हजार मानिसमा कोरोना संक्रमण्ण भइसकेको छ भने ४२ हजार भन्दा बढीको मृत्यु भएको छ । विश्वका शक्ति राष्ट्रहरु अमेरिका, चीन, इटली, फ्रान्स, स्पेन, बेलायत जस्ता राष्ट्र कोरोना भाइरसबाट नराम्ररी प्रभावित बनेका छन् भने २०० भन्दा बढी देश यसको चपेटामा परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !