७ पुस २०८१, आइतबार

देशभर एकैदिन ४५७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २३४१ जनामा पिसिआर परिक्षण गर्दा ३८६ जना र २३१० जनामा एन्टीजेन परिक्षण गर्दा ७१ जना गरी जम्मा ४६५१* नमुनाको परीक्षण गर्दा ४५७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमण केही दिनयता दैनिक रुपमा बढ्दै र घट्दै उतार-चढाव हुने गरेको छ । हिजो भन्दा आज देशभर कोरोना संक्रमण बढेको हो । हिजो देशभर १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १६३ जना, ललितपुर जिल्लामा ४५ जना र भक्तपुर जिल्लामा १० जनामा कोरोना संक्रमण देखिएको छ ।उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १ हजार १३, ललितपुर ९२ र भक्तपुरमा २८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार ११३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ८० हजार ६४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट ११९५४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ५७ लाख ८७ हजार ३५७ पिसिआर परीक्षण भएको छ भने १२ लाख ५४ हजार ४९५ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् । हाल देशभर १७७६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९८ हजार ९०० ले कोभिड विरुद्धको खोप लगाएका छन् । होम आइसोलेशनमा एक हजार ७०१, संस्थागत आइसोलेशनमा ७५, आइसियु १५ र भेण्टिलेटरमा एक सङ्क्रमित रहेका छन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !