७ बैशाख २०८१, शुक्रबार

उपत्यका बन्यो कोरोनाको हटस्पट, देशभर संक्रमितमध्ये ५९ प्रतिशत काठमाडौँका


काठमाडौं उपत्यका

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५०८७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ भने काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १९१३ जना, ललितपुर जिल्लामा ३७७ जना र भक्तपुर जिल्लामा ३१७ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर संक्रमित भएका ५०८७ जनामध्ये उपत्यकामा मात्र २६०७ जनामा कोरोना पुष्टि हुनु भनेको ५१.२४ प्रतिशत हुन्छ ।

यसैले देशभर कोरोना संक्रमितमध्ये उपत्यकाका मात्र आधा भन्दा बढीमा संक्रमण देखिएको हो । यसरी आधा भन्दा बढी उपत्यकामा देखिनुले काठमाडौँ उपत्यका कोरोनाको हटस्पट बनेको छ । जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेका अनुसार अहिलेको सक्रिय संक्रमितको संख्या हेर्दा काठमाडौँ उपत्यकालाई कोरोनाको हटस्पट भन्न मिल्ने नेपालपत्रलाई बताए ।

डा. पाण्डेका अनुसार सरकारले तत्काल उपत्यकामा समुदाय स्तरमा कोरोनाको परीक्षण गर्न जरुरी रहेको बताए । उनले कोरोना संक्रमितहरुमध्ये अधिकांश सक्रिय उमेर समूहका भएकोले उनीहरुले घर-घरमा कोरोना बोकेर लाने भएकोले गर्दा यसले जेष्ठ नागरिक र दीर्घरोगीहरुलाई उच्च जोखिम बढेको समेत बताए ।

उनले अधिकांश संक्रमितहरु कोरोनाको डेल्टा भेरियन्टले गर्दा भएकोले अव संक्रमितहरुको अस्पताल भर्ना हुने दर बढ्ने र अस्पतालहरुमा बेडहरुको अभाव समेत सिर्जना हुनसक्ने प्रवल सम्भावना रहेको समेत उनले बताए । अहिलेको ज्यामितीय दरमा कोरोनाको संक्रमण दर वृद्धि भईरहेको समेत उनले बताए ।

यद्यपि उनले तत्काल कडा लकडाउन गर्नु नपर्ने भएतापनि स्मार्ट लकडाउनलाई कडाईका साथ पालना गर्दै कोरोनाको परीक्षण हवात्तै बढाएर संक्रमणलाई बढ्न नदिने रणनीति अवलम्वन गर्न जरुरी रहेको समेत उनले बताए । सामाजिक दुरी कायम गर्ने, हात धुने, सेनिटाइजरको प्रयोग गरेर कडाईका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने डा. पाण्डेले बताए ।

हाल देशभर १८२३५ जना सक्रिय संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ७६२५, ललितपुर १९३५ र भक्तपुरमा १२५१ गरी जम्मा १०८११ जना सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएसंगै उपत्यकामा मात्र ५९.२८ प्रतिशत कोरोना संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०५६० जनामा कोरोना परीक्षण गर्दा ५०८७ जनामा कोरोना पुष्टि भएकोले संक्रमणदर २४.७४ प्रतिशत देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०६ जनाले कोरोना जितेका छन् भने कोरोना संक्रमणवाट ३ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !