१३ बैशाख २०८१, बिहिबार

कोभ्याक्समार्फत नेपालमा ६० लाख कोरोना खोप कहाँ–कहाँबाट ?


कोभ्याक्स

काठमाडौँ । नेपालका ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोहीअनुसार अहिले विभिन्न देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइरहेका छन् । अहिलेसम्म भारत, चीन, अमेरिका, जापानलगायत देशले कोभ्याक्स मार्फत नेपाललाई खोप उपलब्ध गराइसकेका छन् ।

नेपालले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो । यसअघि कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड खोप तीन लाख ४८ हजार मात्रा खोप प्राप्त भएको थियो ।

यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।

यसैगरी स्वास्थ्य सेवा विभागका खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिए । कोभ्याक्समार्फत तीन लाख ५० हजार खोप आउन थालेको हो । मन्त्रालयले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाएको छ ।

चीन र अमेरिकाबाट प्राप्त भएको खोप असार २९ देखि साउन १ गतेसम्म लगाइएको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूह तथा जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइएको छ ।

नेपालमा अहिलेसम्म पहिलो मात्रा २७ लाख ६५ हजार ७०९ र दोस्रो मात्रा ११ लाख २० हजार २८२ व्यक्तिले लगाइसकेका छन् । सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसङ्ख्यालाई निःशुल्क खोप लगाउने लक्ष्य लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !