७ माघ २०८१, सोमबार

महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी


निषेधाज्ञा

महोत्तरी । महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी गरिएको छ । यही जेठ १० गतेदेखि आज जेठ २० गते मध्यरातसम्मलाई तेस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ ३१ गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः ११ दिन थप गरेको हो । पहिलो पटक गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता जेठ १ र १० गते क्रमशः दोस्रो र तेस्रो पटक निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लामा कोभिड–१९ सङ्क्रमणको दर घट्दै गए पनि जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए । यस अवधिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ । अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दुध, पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ ।

जिल्लामा अहिले बुधबारसम्म यसपालि गत वैशाख १४ गतेयता महाव्याधि सङ्क्रमणले ६९ जनाको ज्यान गइसकेको छ । यस अवधिमा दुई हजार ३३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस अवधिमा ४८५ जनाले सङ्क्रमण जितेका छन् । अब एक हजार ७७८ जनामा अझै सङ्क्रमण पाइएको कार्यालयका कोभिड–१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !